Logo

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन र माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो ।

यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२०मा सामुदायिकतर्फ प्रथम अमरसिंह माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौँ, तृतीय बज्रबराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुर तथा संस्थागततर्फ प्रथम एसओएस हरमन माइनर माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुर, द्धितीय एभरेष्ट इङ्लिस बोडिङ माध्यमिक विद्यालय विराटनगर मोरङ, तृतीय नेशनल सेकेण्डरी स्कूल इमाडोल ललितपुर रहेका छन् ।

यसैगरी माध्यमिक शिक्षा परीक्षा ९कक्षा १००मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ प्रथम शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक ललितपुर र तृतीय कालिका माध्यमिक विद्यालय, कालिकानगर बुटवल रुपन्देही रहेका छन् भने संस्थागततर्फ प्रथम मदरल्याण्ड माध्यमिक विद्यालय मासवार, पोखरा कास्की, द्धितीय जेम्स माध्यमिक विद्यालय धापाखेल, ललितपुर र तृतीय ज्ञान निकेतन माध्यमिक विद्यालय, शङ्खमूल, काठमाडौँ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यमा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट छनोट भएका विद्यालयलाई पुरस्कार वितरण गरिने छ ।

प्रथम, द्धितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाखसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने सहसचिव गौतमले जानकारी दिनुभयो ।

यसपटक मन्त्रालयले केन्द्रीयस्तरमा मात्र पुरस्कार प्रदान गर्ने छ । यसैगरी दिवसको अवसरमा प्रदेश र स्थानीय तहले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कार प्रदान गर्ने छन् । प्रदेश र स्थानीय तहमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिनका लागि ‘शिक्षा पुरस्कार निर्देशिका –२०७५’ ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्