Logo

अन्धकारमा दुनै



जाजरकोट । मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको छ । यो पटकको पहिरोले कुलोमा ठूलो क्षति भएकाले सानोतिनो मर्मतले संभब नहुने जनाइएको छ ।

कुलोभन्दा माथि अझै पहिरो आउने सम्भावना भएकाले लामो समयसम्म विद्युत् अवरुद्ध हुनसक्ने र मर्मत गर्दा पनि पहिरो खस्ने सम्भावना भएकोे स्थानीय टीकादत्त न्यौपाने बताए ।

सोही ठाउँ नजिकै सोमबार साँझ पहिरोले करीब १५ मिटर कुलो भत्काउँदा २४ घण्टा विद्युत् अवरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मङ्गलबार मर्मत गरेपछि विद्युत् सेवा सञ्चालन भएकामा मङ्लबार राति गएको पहिराले झण्डै ४० मिटर कुलो भत्काउँदा झनै ठूलो क्षति भएको उनले जानकारी गराए।

केही समय पहिले दुई सय किलोवाट विद्युत् उत्पादन हुने जैरीगाड पावरहाउसमा पछिल्लो पटक ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँदै आएको थियो ।

एउटा जेनेरेटर केही समय अघि जलेकाले बुटवल पावर कम्पनीमा मर्मत भइरहेको र हाल रहेको एक सय किलोवाटको क्षमताको जेनेरेटरमा खराबी आउँदा ४० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेकाले सदरमुकाम दुनै बजार र जुफालमा पालै पालो गरी विद्युत् आपूर्ति हुँदै आएको थियो । विद्युत् सेवा बन्द भएसँगै सदरमुकाम दुनै बजार अन्धकार भएको छ ।



प्रतिक्रिया दिनुहोस्