काठमाडौं, २१ भदौ । नेपाली कप्तान विराज महर्जन भुटानविरुद्ध आज मैदान उत्रिए नेपालका लागि सर्बाधिक खेल खेल्ने इतिहास रच्नेछन्।
यो उनको करिअरको ६९ औं खेल हुनेछ। यसअघि नेपालबाट सर्बाधिक खेल खेल्ने इतिहास पूर्व कप्तान राजुकाजी श्रेष्ठको नाममा रहेको ६८ औं खेलको कीर्तिमान विराजले भंग गर्न लागेका हुन्।
सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विराज त्यसयता निरन्तर राष्ट्रिय टोलीमा रहेका छन्।
एन्फा एकेडेमीका दोस्रो ब्याचको उत्पादन विराजले भारतविरुद्ध तीन वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा नेपालका लागि ५० औं खेल खेलेका थिए। सोहीवर्ष भारतमै भएको साफ च्याम्पियन्ससिपमा उनले नेपाली टोलीको कप्तानी गरेका हुन्।
सन् २०१६ मा उनको कप्तानीमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र साग गेम्सको उपाधि जितेको थियो। त्यसैले उनलाई नेपाली फुटबल इतिहासको सफल कप्तान समेत मानिन्छ।
विराज हाल घरेलु फुटबलमा मनाङमस्र्याङ्दी क्लबसँग आवद्ध छन्। उनले लामो समय अर्को घरेलु फुटबलको सफल क्लब थ्रीस्टारबाट पनि खेलेका थिए।