काठमाडौं २२ भदौ । सरकारले नागढुंगा–मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ । सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको हो । हाल दैनिक १८ हजारसम्म गाडी गुड्ने यो सडकमा सन् २०२२ सम्ममा २५ हजार गाडी गुड्ने अनुमान छ ।
‘पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप धान्न सो सडकलाई ४ लेनको नबनाई हुँदैन,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने, ‘सडक मर्मत गरेर सवारीको गति प्रतिघन्टा १५ किलोमिटरसम्म मात्र पु-याउन सकिने देखियो ।’ उद्गमबाट आएको समयभन्दा बढी समय सवारीसाधन मुग्लिन–नागढुंगाको जाममा पर्ने गरेकाले यो सडक ४ लेनमा विस्तार गर्नुको विकल्प नरहेको उनले बताए ।
त्रिशूलीपारि दुई खण्डमा तत्काल २६ किलोमिटर सडक
श्रेष्ठका अनुसार सडक विभागले त्रिशूली नदीको पारि किनारबाट हाल दुई खण्डमा गरी २६ किलोमिटर सडक विस्तार गर्न लागेको छ । यसअन्तर्गत तत्काल सिस्नेखोला–धार्के ११ किलोमिटर र विशालटार–फिस्लिङ १५ किलोमिटर सडक निर्माण गर्ने योजना अघि बढाएको छ । ‘भविष्यमा ४ लेनमा विस्तार गर्न त्रिशूलीपारि किनारैकिनार नौबिसेदेखि मुग्लिनसम्म नै सडक विस्तार गर्ने अवधारणा छ,’ श्रेष्ठले भने ।
बनिसक्यो डिटेल डिजाइन
यो सडक निर्माणका लागि सडक विभागले विश्व बैंकको सहयोगमा डिटेल डिजाइन प्रतिवेदन तयार पारिसकेको छ । त्रिशूलीपारिबाट दुई खण्डमा विस्तार हुने सडक निर्माण गर्दा सकेसम्म कम पहाड भत्काउने र सम्भव भएका ठाउँमा तलबाट पर्खाल उठाएर सडक निर्माण गर्ने प्रविधि अपनाइने भएको छ ।
हाल सञ्चालनमा रहेको त्रिशूलीवारिको सडकलाई समेत विस्तार, मर्मत र सडक सुरक्षा वृद्धि गर्ने योजनाको डिजाइन तयार पारिएको छ । यसअनुसार हाल चलिरहेको सडकका ३१ ठाउँमा ‘क्लाइम्बिङ लेन’ विस्तार गर्ने, बाक्लो वस्ती भएका करिब १५ ठाउँमा आकासे पुल निर्माण, सडक किनारमा नाला निर्माण र वस्ती भएका ठाउँमा ४ लेनमा विस्तार गरिने डिजाइन छ । त्यस्तै, केही ठाउँमा सवारीसाधन(बस÷ट्रक) राख्न मिल्ने बिसौनीसमेत निर्माण गरिने डिजाइन छ । नयाँपत्रिकाबाट