Logo

नमूना शहरमा खानेपानीको समस्या



मुसिकोट । नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो ।

नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनअहिलेसम्म पानी नपु¥याउँदा स्थानीयवासीले अटोरिक्सा र गाडीलाई पैसा तिरेर पानीको जोहो गर्नुपरेको स्थानीयवासी लिलावती रानाले जानकारी गराए ।

बजार क्षेत्रमा भएका पाइपलाइनका धाराबाट दिन बिराएर खानेपानी भर्नुपर्ने र पानी भर्नकै लागि तीन दिनदेखि पालो कुर्नुपर्ने बाध्यता रहेको उनको भनाइ रहेको थियो । वर्षौदेखि खानेपानीको समस्याले पीडित चौरजहारीवासीलाई अहिलेको स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय वीरबहादुर गिरीको गुनासो थियो ।

चौरजहारी नगरपालिका– १, २ र ३ का करीब १ हजार २०० घरधूरीले यो समस्याका कारण हिउँदमा ठूली भेरी नदीको दूषित पानी पिउन बाध्य हुँदै आएका छन् । ती स्थानमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ वितरण गर्ने भनिए पनि प्रविधिले साथ नदिएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

अब यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न रु २१ करोडको लागतमा टेण्डरमार्फत काम अघि बढाइएको नगर प्रमुख विशाल शर्माले बताए। खानेपानीको समस्यासँगै सिँचाइको समेत अभाव हुँदा यहाँका खेतीयोग्य उर्वर जमीनसमेत बाँझै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot