Logo

चीनका बन्दरगाह प्रयोग गर्न नेपाललाई यस्ता छन् चुनौती



काठमाडौं । नेपाललाई चीनका बन्दरगाहहरू प्रयोग गर्नका लागि, पूर्वाधारको अभाव र तेस्रो मुलुकसँगको कारोबारमा हुने प्रकृयागत झन्झट मुख्य चुनौती बन्नसक्ने विज्ञ तथा ढूवानी व्यवसायीहरूले बताएका छन्।

बिहीवार राती नेपाल र चीनका अधिकारीहरू एउटा महत्त्वपूर्ण मानिएको पारवहन सम्बन्धी सम्झौताको प्रोटोकल अर्थात् कार्यविधिको मस्यौदामा सहमत भएपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।

अढाई वर्षअघि नेपालले चीनको बाटो तथा बन्दरगाहहरू प्रयोग गरि आयात-निर्यात गर्न पाउने गरि भएको उक्त पारवहन सम्झौताको प्रोटोकल तयार भएपछि अब चाँडै कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले बताएका छन्।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र बहुराष्ट्रिय ढुवानी व्यवसायमा संलग्न एकजना व्यवसायी राजन शर्माले चीनका बन्दरगाह प्रयोग गर्दा नेपालले भोग्नसक्ने केही चुनौतीहरूबारे बताए ।

चुनौती

  • प्रयोग गरिने भनिएका ६ वटा नेपाली नाकासम्म पुग्ने सडक वा रेल पूर्वाधार प्रभावकारी नभएकाले सहजै चीनबाट आयात निर्यात गर्न सक्ने अवस्था छैन।
  • नेपालले हाल प्रयोग गरिरहेका भारतीय बन्दरगाहहरूको तुलनामा चीनका बन्दरगाहहरूको दूरी निक्कै टाढा छ। सबैभन्दा नजिकको भनिएको तियान्जेन बन्दरगाह पुग्न समेत करिब चार हजार किलोमिटर यात्रा गर्नुपर्छ।
  • समुद्री ढुवानी सबैभन्दा सस्तो मानिन्छ। समुद्रीपछि रेल र त्यसपछि सडकबाट हुने ढुवानी मँहगा हुन्। चीनबाट आयात वा निर्यात गर्दा समुद्रको तुलनामा रेल र सडक धेरै प्रयोग गर्नुपर्छ। त्यसले आर्थिक भार बढाउन सक्छ।
  • चीनले, तेस्रो मुलुकबाट आयात र निर्यात गर्दा नेपाली व्यवसायीले के( कस्ता प्रकृया पूरा गर्नुपर्ने प्रावधानहरू राख्छ त्यसमा पारवहनको सहजता निर्भर हुनेछ।
  • भन्सार, ढुवानी र सामान हराउँदा दिइने क्षतिपूर्ती बारे चीनले परम्परागत पारवहन साझेदार भारतले जस्तो सहजीकरण नगर्न सक्छ।
  • जापान र कोरिया बाहेक अन्यत्रबाट सामान ल्याउँदा वा पठाउँदा खासै सहज हुने जस्तो देखिदैन।
  • नेपाली सवारी तथा व्यवसायीले अहिले चीनको भूमिमा सहज प्रवेश पाइरहेका छैनन् । यस्तै अवस्था जारी रहे यो सम्झौता कागजमै सीमित हुनसक्छ।
  • हालसम्म प्रयोगात्मक रूपमा चीनतर्फको पारवहनको परीक्षण नै गरिएको छैन । त्यसले गर्दा कस्ता समस्या छन् भन्ने नै जानकारी नभएकाले तत्कालै ढुवानी सहज हुने देखिँदैन।
  • समयका हिसाबले चीनबाट आयात गर्न किफायती हुने जस्तो देखिए पनि आर्थिक लागत भने बढी पर्ने सम्भावना छ। यसको रणनीतिक महत्त्व भएपनि व्यावहारिक हिसाबले भने धेरै खाले समस्या देखिन सक्छन्। बीबीसी नेपाली


प्रतिक्रिया दिनुहोस्

Screenshot