Logo

लिफ्टिङबाट खानेपानी वितरण गरिने



चौतारा । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी लिफ्टिङ प्रणालीबाट खानेपानी आयोजना निर्माण गरिने भएको छ ।

‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई वर्षभित्र सम्पन्न गर्नेगरी सगरमाथा कन्ट्रक्सन कम्पनीले रु १५ करोड ६८ लाखमा निर्माणको ठेक्का पाएको छ । सो आयोजनाबाट साविकको साँगाचोक गाविस र नगरपालिकाको १०, ११ र १२ वडाका दुई हजार २२३ घरधुरीलाई स्वच्छ पिउने पानी वितरण हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिएका छन ।

चार तहबाट इन्टेकदेखि एक हजार १०० मिटरको उचाइमा रहेको हर्रे डाँडास्थित ट्याङ्कीमा विजुलीबाट तानिएको पानी सङ्कलन गरेर शुद्धीकरणका लागि प्रशोधन केन्द्रसमेत बनाइने भएको छ । पानी सङ्कलनका लागि ५० हजारदेखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्की निर्माण गरिनेछ । निर्माण पछि एक वर्षसम्म सो आयोजना ठेकेदारले नै सञ्चालन गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिने बताइएको छ । उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा वितरण गरिने र यसका लागि प्रत्येक घरले १० प्रतिशत जनश्रम व्यहोर्नुपर्ने भएको छ ।

“भूकम्पले मुहान सुकेपछि प्रत्येक वर्षको फागुनदेखि असारसम्म स्थानीयबासीले धेरै दुःख झेल्दै आएका थिए”, वडा नं १० का वडाध्यक्ष बेलबहादुर महतले “अब भने गाउँलेले खानेपानीको समस्याबाट मुक्ति पाउने भए ।” बताएका छन ।



प्रतिक्रिया दिनुहोस्