Logo

‘कांग्रेस जनतासँग हुनुपर्छ, कांग्रेस वारी जनता पारी हुनुहुँदैन्’ : रिजाल



काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. मीनेन्द्र रिजालले विपीको विचारलाई आत्मसात् गर्दै कांग्रेस सँधै जनतासँगै हुनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको ‘विपीको १०५ औं जन्मजयन्ती र कांग्रेसको संगठन्’ विषयक कार्यक्रममा बोल्दै डा. रिजालले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘विपीको बारेमा धेरै चर्चा हुने गर्दछन्, मानिसको व्यक्तिगत सोचलाई सिमाभित्र नराखेर अघि बढ्ने व्यक्तिको नाम विपी हो, कुनै द्धिविधा आईलाग्यो भने माटो समाउ अनि अन्तर्मनले जे बोल्छ त्यही गर भनेर भनेको कुरालेपनि यो स्पष्ट पार्छ ।’

राष्ट्रियताको विषय खतरामा परेको बेला विपीले राष्ट्रिय मेलमिलाप नीति लिएर अघि बढेको स्मरण गराउँदै नेता रिजालले भने,‘जनता र राजा नमिलि देशको रक्षा नहुने देखिपछि राजासँग मेरो घाँटीसम्म जोडिएको छ भनेर भन्नुभयो, अनि प्रजातन्त्र पुनःस्थापनाको लागि सशस्त्र क्रान्ति आवश्यक छ भनेर भन्नुभयो ।’

आज राप्रपाले विपीको सन्दर्भलाई नबुझेर बुर्का भर्ने काम गरिरहेको उनको गुनासा छ । उनले थपे,‘अर्कोतर्फ प्रचण्ड–ओलीहरु र अन्य कम्युनिष्टहरुले विपीको सन्दर्भलाई गलत अर्थ दिँदै क्रान्तिमात्रै भनिरहेका छन् । कांग्रेस त विपीले यसो भन्नुभयो, उसो गर्नुहुन्थ्यो भन्दै बसेको छ, यो सब गर्न कसैलाई छुट छैन्, मुलक र जनताको निम्ति काम गर्नुपर्छ।’

कांग्रेसको विधान संशोधन मस्यौदा समितिका सदस्यसमेत रहेका डा. रिजालले कुनै व्यक्ति विषेशको आग्रहभन्दा माथि उठेर पार्टीको विधान निर्माण गरिने बताएका छन् ।

उनले भने,‘पार्टीको स्थिति अनुसार चल्ने नेतृत्व र कार्यकर्ता हुनुपर्छ, हार्दा मेरो कारण पार्टीले हार्यो भनेर बिदा लिने कांग्रेस चाहिन्छ, नेतृत्वले भनेको मान्ने कार्यकर्ता चाहिन्छ, पार्टीको हारमा दुईवटा थुम्का मिलेर एउटा भन्दा अग्लो हुनेनै भयो, जनताको मन जित्ने कांग्रेस बनेन भने फेरी पनि चुनावमा पराजित हुनुपर्ने स्थिति आउँछ, कांग्रेस जनतासँग हुनुपर्छ, कांग्रेस वारी जनता पारी हुनुहुँदैन।’

समानुपातिक, केन्द्रीय नेतृत्व र प्रदेशको नेतृत्व लिन सक्ने व्यक्तिको संरक्षण हुने खालको विधान निर्माण गरिने नेता रिजालले विश्वास दिलाए ।
नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिका सभापति भीम बहादुर थापाको सभापतित्वमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा धनकुटाका पूर्व सभापति एवम् पूर्व सांसद मनोहरनारयण श्रेष्ठले केन्द्रीय नेतृत्व समयअनुसार चल्न नसकेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व सभापति हरि अधिकारी, महाधिवेशन प्रतिनिधि एवम् नेपाल लोकतान्त्रिक अपाङग संघका केन्द्रीय सदस्य उदय लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य निर्मल ओझा, नपाली कांग्रेस सम्पर्क समन्वयन समितिका अध्यक्ष सुवास कोईराला, विपी अध्ययन प्रतिष्ठान धनकुटाका अध्यक्ष धीरेन्द्र मिश्र, सम्पर्क समितिका सल्लाहकार यज्ञ अधिकारी र कुमारसिंह घिसिङलगायतले विपीको विचार अहिलेपनि उतिकै सान्दर्भिक रहेको भन्दै पार्टी नेतृत्व विपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्