Logo

चट्याङबाट ट्रान्सफर्मरमा क्षति, गाँउ अन्धकार



पशुपतिनगर । हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो ।

सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेका अनुसार पूर्वी इलामको सूर्योदय नगरपालिकाको वडा नम्बर १, २, ३ मा एक÷एक वटा ट्रान्सफर्मर चट्याङबाट क्षति पुगेको हो ।

यस्तै सूर्योदय नगरपालिकाकै वडा नम्बर ११ मा २ वटा, वडा नम्बर १० मा एक र माईजोगमाई गाउँपालिकाका–३ मा एक वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ । चट्याङबाट ५० केभिए र २५ केभिएका ट्रान्सफर्मरमा क्षति पुगेकाले मर्मतका लागि सङ्कलन गरी नयाँ ट्रान्सफर्मर जडानको काम चाँडै शुरु हुने विद्युत् प्राधिकरण इलामका प्रमुख घिमिरेले बताएका छन।

चट्याङबाट ट्रान्सफर्मरमा क्षति पुगेपछि इलामको सूर्योदय नगरपालिकास्थित पूर्वी पहाडी क्षेत्रको नाका पशुपतिनगर व्यापारिक केन्द्र पनि अन्धकारमा रहेको छ । चट्याङबाट क्षति पुगेका एक ट्रान्सफर्मरबाट क्षमताअनुसार न्यूनतम ६० परिवारदेखि २०० परिवारले विद्युत् उपभोग गर्दै आएको प्राधिकरण फिक्कलका प्रमुख रामकुमार देवानले जानकारी गराएका छन ।

यस्तै चट्याङकै कारण पूर्वी इलाममा ४०० बढी विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् मिटर र विद्युतीय सामग्रीमा क्षति पुगेको विद्युत् प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्