काठमाडौँ, २४ भदौ / महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ यादवसँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।