Logo

काठमाडौंबाट दिल्ली फर्किए भारतीय कांग्रेसका अध्यक्ष राहुल, जसरी आए त्यसरी नै फर्किए



काठमाडौं २५ भदौ । तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् । उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।

दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् । उनी फर्केको थाहा पाएपछि एयर इन्डिगोका भारतीय यात्रीले तस्बिर खिचाएका थिए ।

गान्धी इन्डिगोको ६ इ ३२ उडानबाट अपरान्ह ३ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल दिल्ली अवतरण गरेका थिए । सर्वसाधारण नागरिक सरह उनले यात्रा गरेका थिए ।

यसअघि भदौ १५ गते काठमाडौं आएका राहुल २२ घण्टापछि १६ गते दिउँसो तिब्बतको ल्हासा गएका थिए । उनी एयर चाइनाको नियमीत उडानबाट ल्हासा उडेका हुन् । ल्हासा हुँदै कैलाश मानसरोवर पुगेर उनले भगवान शिवको दर्शन गरेका थिए । कैलाश दर्शनका तस्बिर उनको आधिकारिक ट्विटर एकाउन्टबाट सार्वजनिक भइसकेको छ ।

उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन जाँच गराएर गएका थिए । नितान्त धार्मिक भ्रमणमा आएका उनी आएर तिब्बत गएको धेरैले थाहा पाएनन् । सोहीअनुसार उनी साधारण नागरिकको हैसियतमा सुटुक्क दिल्ली फर्केका छन् ।

अध्यागमन कार्यालय विमानस्थल स्रोतका अनुसार राहुल डी ११२६६५० नम्बरको कूटनीतिक राहदानीमा आएका थिए । उनको राहदानी अगस्ट २९ मा राहदानी जारी भएको छ । २०१९ मे ३१ सम्म राहदानीको म्याद छ । राहदानीमा उनको जन्म मिति सन् १९७० जुन १९ तथा जन्मस्थान नयाँ दिल्ली उल्लेख छ ।

राहुल १५ भदौमा इन्डिगो एयरको उडानबाट अपरान्ह पौने २ बजे काठमाडौं विमानस्थलमा ओर्लेका थिए । उनी होटल ¥याडिसनमा बसेका थिए । काठमाडौं आएको साँझ उनले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा नेवारी खाजा खाएका थिए । काठमाडौंका एक रैथाने मित्रसँग उनले खाजा खाएका थिए ।

शुक्रबार राति उनी काठमाडौंका एक स्थानीय मारवाडी व्यवसायीसँग बौद्धनाथ स्तुपा घुमघाम गरेका थिए । उनी राति पाटन र स्वयम्भु पनि पुगेका थिए । बौद्ध स्तुपामा गान्धीले आफ्ना साथी र परिवारसँग तस्बिर खिचाएका थिए । राहुलले शाकाहारी भोजन खाएको कि मांसाहारी भन्ने बहस भारतीय टिभीमा भइरहेको छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्