‘संविधान संशोधन नभए सरकारमा बस्नुको औचित्य छैन’
काठमाडौं, २६ भदौ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले मुख्यमन्त्रीहरुभन्दा सिडिओ नै शक्तिशाली भएकोले संघीयता नै धरापमा पर्ने खतरा औंल्याएका छन् ।
मंगलबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नेता रिजालले भने,‘संविधानमै मुख्यमन्त्रीहरुलाई अधिकारविहिन बनाईएको छ । संघीयता आयो भनेर हर्ष र बढाईमात्रै गरेर हुँदैन, अहिले मुख्यमन्त्रीभन्दा सिडिओ नै शक्तिशाली छन् । त्यसैले नाममात्रको र अधिकारविहिन संघीयताको काम छैन । यदि संघीयतालाई कार्यान्वयन गर्ने हो भने अधिकारसम्पन्न प्रदेशहरुको निर्माण हुनुपर्छ ।’
विद्यमान ७ प्रदेशले मुलुकको बहुपहिचानलाई सम्बोधन गर्न नसक्ने उनको गुनासो छ । उनले थपे,‘त्यसैले बहुपहिचानलाई आत्मसात् गर्दै अहिले भएका ७ प्रदेशलाई बढाएर ११ प्रदेश बनाउनुपर्छ । मधेशमा २, पहाडमा ८ र केन्द्रमा १ गरि ११ प्रदेश बनाउनुपर्छ । यसो गरियो भनेमात्रै मुलुकमा संघीयता कार्यान्वयन हुन्छ ।’
प्रदेशका नामहरु जातीय पहिचानलाई स्वीकार गरेर राखिनुपर्ने उनको धारणा छ । उनले भने,‘प्रदेश नम्बर एकको नाम किराँत, २ नम्बर प्रदेशको मधेश राख्नुपर्छ । यसैगरि अन्य प्रदेशहरुको पनि नामाकरण गर्दा जातीय पहिचानलाई केन्द्रविन्दुमा राख्नुपर्छ ।’
आफ्नो पार्टी संविधान संशोधन गराउने मुख्य उद्देश्य बोकेर नै वर्तमान सरकारमा सहभागी भएको नेता रिजालले जिकिर गरे । उनले भने,‘संविधान संशोधन गराउनु हाम्रो मुख्य उद्देश्य हो । यदि सरकारमा जाँदापनि संविधान संशोधन हुन सकेन भने हामी सरकारमा बसिरहनुको कुनै अर्थ हुँदैन् । अब संविधान संशोधन गर्न धेरै ढिलाई गर्नुहुँदैन् । पार्टी नेतृत्वले बेलैमा सोच्नुपर्छ ।’