Logo

विम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिएकोमा भारतीय पक्ष संशिकत !



काठमाडौं, २६ भदौ । हिजोबाट भारतको पुनेमा सुरु भएको विम्स्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपाल पूर्ववतः सहमतिबाट पछाडि फर्किएको भारतीय पक्षले आरोप लगाएको छ ।

हालै काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । उक्त सम्मेलनमा नेपालले पनि भाग लिने संकेत देखाएको थियो ।

तर, सत्ताढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त सैन्य अभ्यासमा भाग नलिने स्पष्ट पारेका थिए । नेपाल सरकारको यस्तो निर्णयप्रति भारतीय सत्तापक्षका नेताहरु ओलीप्रति असन्तुष्ट भएको स्रोतको दाबी छ ।

काठमाडौंको चौथो विम्स्टेकमा भारतीय प्रधानमन्त्री मोदीले सैन्य अभ्यासको कुरा गरेपछि विम्स्टेकको औचित्यमाथि नेपालमा प्रश्न उठाईएको थियो । लगानी र व्यापारलाई मुख्य उद्देश्य बनाएको विम्स्टेकले सैन्य अभ्यास गर्नु गलत हुने टिप्पणी हुन थालेपछि प्रधानमन्त्री ओली उक्त सैन्य अभ्यासमा भाग नलिने भन्नेमा पुगेका हुन् ।

हिजोबाट सुरु भएको विम्स्टेकका सदस्य राष्ट्रले आआफ्नो देशबाट ३० जनाका दरले सेनाहरु सहभागी हुने भनिएको थियो । तर, नेपालले उक्त संयुक्त सैन्य अभ्यासमा भाग लिएन ।

भारतीय पक्षले भने नेपालले कुटनीति र राजनैतिक दुवै रुपमा गलत निर्णय गरेको आरोप लगाएको छ । भारतीय एक नेताले भने,‘नेपालमा चिनियाँ कार्डको प्रयोग भएको त होईन भन्ने भारतमा अहिले संशय पैदा भएको छ ।’



प्रतिक्रिया दिनुहोस्