काठमाडौं, २७ भदौ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरि काठमाडौं ल्याउने भएको छ ।
विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो।
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।