Logo

रहस्यमय शान्ति योजना



काठमाडौँ । प्यालेस्टिनी अधिकारीहरुले ट्रम्पलाई मध्यपूर्वको शान्ति मध्यस्थकर्ताका रुपमा स्वीकार्न अस्वीकार गरेका छन् । दशकौंदेखि यो केन्द्रीय भूमिकामा वासिङटन रहने गरेको थियो ।

मध्यपूर्व सवालमा रिपब्लीकन र डेमोक्राट प्रशासन दुबैमा कार्य गरेका पूर्व मध्यस्थकर्ता आरोन डेभिड मिलरले वासिङटन कहिल्यै पनि इमान्दार नरहेको बताउनुभयो ।

“इजरायलसँग हाम्रो अति निकट सम्बन्धले हामीलाई इमान्दार मध्यस्थकर्ता हुन कहिल्यै दिएन,” उहाँले भन्नुभयो, “कुनै कुनै कालखण्डमा प्रभावकारी मध्यस्थकर्ताका रुपमा हामी देखियौं । अरब र इजरायलीबीच सम्झौता हुँदा हामीले आफ्नो सम्बन्ध र सम्पर्कलाई प्रयोग गरेका थियौं ।”

तर, “आज, हामीले प्रभावकारी मध्यस्थकर्ता हुने सम्भावनालाई त्याग्यौं, कमजोर बनायौं र सम्झौता ग¥यौं,” विल्सन सेन्टरका मध्यपूर्व कार्यक्रम निर्देशक मिलरले बताउनुभयो । “अमेरिकी प्रशासन इजरायलको यतिधेरै अन्ध समर्थक रहेको र प्यालेस्टिनी विरुद्ध यतिबिधि शत्रूतापूर्ण व्यवहार गरेको मैले कहिल्यै देखेको थिइनँ ।”

यही कारण कुश्नरले लामो समयदेखि प्रतिक्षारत शान्ति योजना समेत सार्वजनिक गर्न सक्नुभएको छैन । प्रस्तावित यो योजना सार्वजनिक गर्न ढिलाइ भएको महिनौं भइसकेको छ ।

तर ह्वाइट हाउसले यो योजना अझै छलफलको क्रममा रहेको जनाएको छ । “अमेरिकी प्रशासनको यो अति महत्वाँकाङ्क्षी योजना हो,” राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार बताउनुभयो । “यो योजनाको संवेदनशीलता र सार्वजनिक गर्ने समयको उपयुक्तता दुबै कठिन प्रश्न हो ।”रासस



प्रतिक्रिया दिनुहोस्