काठमाडौं । नयाँ मुलुकी ऐन लागू भइसकेपछि प्रेस स्वतन्त्रता कुण्ठित भयो भनेर सिंगो प्रेस जगत आतंकित बनिरहेकै बेला दृष्टि मिडिया प्रा.लि. नाममा महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टिका सम्पादक शम्भु श्रेष्ठलाई आजै हाजिर हुन पत्र लेखेको छ ।
आज मध्यान्न महागनरीय प्रहरी परिसर ललितपुरबाट खटिएका एक प्रहरी कर्मचारीले दृष्टि मिडियाको कार्यालयमा चलानी नं ९९६ को ‘उपस्थित गराई दिनु हुन ।’ भन्ने व्यहोराको पक्राउ पुर्जी बुझाएका हुन् । पक्राउ पुर्जीमा सम्पादक श्रेष्ठलाई महानगरीय प्रहरी परिसर ललिपतुरमा आजै उपस्थित गराउन भनिएको छ ।
पत्रमा दृष्टि साप्ताहिकमा प्रकाशित समाचारलाई खोजतलास डटकमले साभार गरेका कारण उक्त समाचारका विषयमा केही कुरा बुझ्न आजै उपस्थित गराउन भनिएको व्यवहोरा उल्लेख छ ।
वर्ष ३५ अंक ४२, २०७५ भदौं १९ गते प्रकाशित दृष्टि साप्ताहिकको पृष्ठ तीनमा ‘हरिसिद्धिको जग्गा गैर कानुनी रुपमा बिक्री गर्न सांसदहरुकै दवाव’ शिर्षकमा समाचार खोजतलासले साभार गरेको बयान प्रहरीमा दिएकोले त्यस विषयमा बुझ्न भन्दै दृष्टि मिडिया प्रा.लि.लाई प्रहरीले बयानका लागि बोलाएको हो ।
समाचार साभार गरेकै कारण खोजतलासका सम्पादक राजु बस्नेतमाथि शुशिल खनालको जाहेरीका आधारमा प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाएको छ ।