Logo

गेष्ट हाउस चौरमा सिटीहल बनाईने



चितवन । भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध गरेपछि सर्वदलीय सहमतिमा गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्ने सहमति भएको हो ।

सो ठाउँमा यसअघि शहीद मञ्च निर्माण गर्ने भन्दै शिलान्यास गरिएको थियो । मञ्च निर्माणको काम अधुरै रहेपछि सिटीहल बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सिटीहल निर्माण गर्न लागेको हो । गेष्टहाउस चौर जिल्ला समन्वय समितिको मातहतमा रहेको छ ।

महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलबीच गेष्ट हाउस चौरमा अन्तर्राष्ट्रियस्तरको सिटीहल बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले जनाईन ।

उनका अनुसार, “सिटीहल गेष्ट हाउस चौरमा बनाउने सहमति भएको छ ।” भरतपुर महानगरपालिका, नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काङ्ग्रेस तथा जिल्ला समन्वय समितिका प्रमुख एवं प्रतिनिधिको बुधबार सम्पन्न बैठकले सिटीहल गेष्ट हाउस चौरमा बनाउने निर्णय गरेको हो ।

प्रमुख दाहालका अनुसार पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउने छ । सिटीहल निर्माणका लागि रु ५० करोड बजेट निकासा भइसकेको छ ।

महानगरले बनाउन लागेको सिटीहल देशकै नमूना बन्ने महानगर उपप्रमुख पार्वती शाहले बताए । गेष्ट हाउस चौरमा चार बिघा दश धुर जग्गा छ ।

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ अस्पतालको जग्गामा सिटीहल निर्माणको विरोध गरिएपनि वैकल्पिक जग्गा खोजी गरी गेष्ट हाउस चौरमा सिटीहल निर्माण गर्न सहमति गरिएको बताउन्छन । उनले विकास निर्माणका काममा महानगरलाई सहयोग गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्