Logo

थकाली समुदायको फालो पर्व शुरु



मुस्ताङ । थाक सात सय अन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमारयात्रा फालो शनिबारदेखि शुरु भएको छ ।थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले परम्परा, संस्कार, कला र संस्कृतिको संरक्षणमा सम्बन्धित समुदाय अग्रसर बन्नुपर्ने बताए । गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारलाई कुमारयात्रामा सहभागी गराउने चलन रहेको थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले जानकारी गराएका छन ।

उनकाअनुसार चार चनमा जन्मिएका छोरा कुमारयात्रा स्योपेनमा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शिवादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् ।

परापूर्वकालमा जङ्गलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेको भनाइ छ । सो स्थानमा गुम्बा बनाइ राखे पश्चात गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको प्रमुख मुखिया भीमप्रसाद गौचन बताउन्छन।

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आर्शिवाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ ।

कुमारयात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् । थकाली भाषामा गीत गाएर परम्परागत पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पूजाआजा गर्छन् ।

फालो पर्व सञ्चालन गर्न थकाली सेवा समितिले रु २५ लाखको अक्षयकोष स्थापना गरेको छ । कोषबाट यस वर्ष पर्वमा बाजा बजाउने कलाकारलाई रु तीस हजार बराबरको पोशाक सहयोग गरेको छ । परम्परागत सांस्कृतिलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालन गर्न सहयोग गर्ने व्यवस्था मिलाइएको अध्यक्ष शेरचनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्