प्यूठान । प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ ।आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।
मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुन । उनी चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । समयमै उनको सीप अन्य व्यक्तिलाई नसिकाउने हो भने उनीसँगै जिल्लाको पहिचान गुम्ने खतरामा छ ।
“ अचेलका मानिस व्यवसाय सञ्चालन गर्न सीप सिक काम लाग्छ भन्दा सिक्न खोज्दैनन्,” उनी बताउन्छन। एउटा चुलेसी बनाउन करीब ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी करीब एक हजार ६०० मा विक्री गर्न सकिने स्थानीय केदार सिं विश्वकर्माको भनाई छ ।
पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउन मुस्किल हुने र बलको काम बढी हुने भएकाले परम्परागत काम गर्ने जाँगर युवामा नभएको उनको गुनासो रहेको छ । “विश्वकर्माभन्दा पहिला सीप जानेका अग्रज नभएकाले यो सीप हस्तान्तरण गर्न गाह्रो भएको छ”, स्थानीय टुकबहादुर विश्वकर्मा बताउन्छन ।
प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएपनि नयाँ पिंढीले परम्परागत पेशालाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन नसको गुनासो गर्छन।
उनले स्थानीय सरोकारवालासँग सहकार्य गरी यसको प्रवद्र्धनमा जोड दिइने जनाए । चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन् । “बाघमुखे चुलेसीको जगेर्नामा हामी लाग्छौ”, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना बताउन्छन ।