काठमाडौं । आजभन्दा ५२ दिन पहिले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार असफल भएको भन्दै नेविसंघले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
नेपाल विद्यार्थी संघले राजधानीको प्रदर्शनीमार्गदेखि विश्वभाषा क्याम्पसबाट सुरु गरि पुतलीसडक चौकमा पुगेर कोणसभामा परिणत भएको प्रदर्शनमा सरकार पीडितको पक्षमा नउभिएको भन्दै पीडितलाई न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको आरोप लगाउँदै सरकारविरुद्ध नारा बाजीसमेत गरेको छ ।
सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले ‘बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौ अरिंगालले टोक्ला’ भन्दै सरकारप्रति व्यङ्ग्यसमेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले सरकारको बिरोध गर्नेहरूप्रति अरिंगाल जस्तै बनेर प्रतिवाद गर्न कार्यकतालाई निर्देशन दिएका थिए ।
तस्बिर मुकुन्द कालिकोटे