Logo

किशोरी बलात्कार र हत्या प्रकरण : समिति थपिँदै, अनुसन्धान शून्य



काठमाडौं २ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।

साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।

‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन,’ कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने, ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन ।’ उनले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरे । ‘पत्रपत्रिका, सामाजिक सञ्जाल, बजारका चर्चासमेतलाई सूचना मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

अपराधी पत्ता लाग्न जति ढिलो हुँदै गएको छ, त्यहीअनुरूप दिनहुँजसो विभिन्न कोणबाट थप आशंका देखा पर्न थालेका छन् । पछिल्लो घटना क्रममा प्रहरी हेडक्वाटरले जसरी एकपछि अर्को उच्च अधिकृत नेतृत्वमा छानबिन समिति गठन गर्दै गएको छ, त्यसबाट घटनाको सुरुको अनुसन्धानमा व्यापक त्रुटि भएको छर्लंग हुँदै गएको देखिन्छ ।

प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यात नेतृत्व समितिलाई घटनाको प्रारम्भिक अनुसन्धानमा संलग्न सबै दर्जाका प्रहरीमाथि छानबिन गर्ने काम तोकेपछि यतिबेला प्रहरीलाई संगठनभित्रका प्रमाण नष्ट गर्ने दोषी पत्ता लगाउने काम पनि थपिएको छ ।

‘हो, अहिले तत्कालीन एसपीका अंगरक्षक, गाडी चालकदेखि निर्मला घटनाको सुरुको अनुसन्धानमा संलग्न र मुद्दासँग संलग्न रहेका सबै तहका प्रहरीलाई केन्द्रमा झिकाइएको छ,’ एसपी कडायतले भने, ‘उनीहरू केही काठमाडौंमै थिए, केही सोमबारै जाँदैछन् ।’

उनका अनुसार सबै मिलाएर करिब १५ जनाजति केन्द्रमा झिकाइएका हुन् । प्रारम्भिक अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेको आरोपका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, गृहका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयंले महेन्द्रनगरमा पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रममै उल्लेख गरेका हुन् ।

घटनाका सम्बन्धमा जनचासोको विषय भने सुरुको अनुसन्धानदेखि नै प्रमाणहरू ढाकछोप र नष्ट गर्ने काम किन र कसलाई जोगाउन गरिएको हो भन्नेतिर नै केन्द्रित रहेको छ । घटनाको वास्तविकता पत्ता लगाउनेभन्दा विभिन्न समिति र उपसमिति गठन गर्नमै समय खेर गइरहेको पनि स्थानीयको आरोप छ ।

घटनाको अनुसन्धान अधिकृत कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझा पनि विभिन्न कोणबाट अनुसन्धान भइरहे पनि अझै नजिक पुग्न नसकिएको बताउँछन् । ‘हामीले शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्ने, निगरानी गर्ने काम गरिरहेका छौं,’ डीएसपी ओझाले भने, ‘तर हामी अझै पनि घटना नजिक पुग्न सकेका छैनौं ।’

घटनास्थल नजिकै नेपाली सेनाको ब्यारेक छ । स्थानीयले घटनामा सेनाकै व्यक्तिको हात हुन सक्ने आशंकासमेत गरेका छन् । तर प्रहरीले अहिलेसम्म त्यतातिर अनुसन्धान सुरु नगरिएको जनाएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्