Logo

संविधान संशोधन नभएसम्म कालो दिन कायमः नेता महतो



नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन । सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गरेका छन ।

संविधानलाई समयानुकूल संशोधन नगरेका कारण संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उनको भनाई रहेको छ । संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे ।

“सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ ।” उनले भने, “साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।”

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटकपटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा नभई लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस्