Logo

‘यही वर्षभित्र संविधान संशोधन भएन भने हामी सरकारबाट बाहिरिन्छौं’



काठमाडौं, २ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवसपनि नमनाउने स्पष्ट पारे । उनले भने,‘न हामी दिवस मनाउँछौं । न त कालो दिवस नै । अहिलेपनि संविधानमा हाम्रो असन्तुष्टि छ । खासगरेर सिमांकनको कुरामा हाम्रो असन्तुष्टि छ । हामीले १० प्लस हुनुपर्छ भनेका छौं ।’

संविधानमा नागरिकतालगायत धेरै प्रावधानमा आफूहरुको असन्तुष्टि रहेको जनाउँदै उनले संविधान संशोधन भएपछिमात्रै ३ करोड नेपालीहरु खुशी हुने जनाए । उनले भने,‘हाम्रो पार्टी संविधान संशोधन गराउनकै लागि सरकारमा गएको हो । हामीसँग प्रधानमन्त्रीले लिखित सम्झौता गर्नुभएको छ । उहाँले हामीसँगको व्यक्तिगत भेटघाटमा हामीले टेन्शनमा संविधान संशोधन गर्यौं भन्नुभएको छ । उहाँलेपनि कमजोरी छ भनेर स्विकार गर्नुभएको छ । संविधान हडबडमा ल्याएकोले गडबड छ।’

उनले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिनेपनि चेतावनी दिए । उनले भने,‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन् । यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्