Logo

ओझेलमा धार्मिक तथा पर्यटकीयस्थल लब्रेकुटी



पाँचथर । धार्मिक तथा पर्यटकीयस्थलको रूपमा परिचित लब्रेकुटी प्रचार–प्रसारको अभावमा ओझेल परेको छ । फिदिम नगरपालिका वडा नं ५ र ३ को सङ्गमस्थलमा अवस्थित यो ठाउँको प्रचार एवं पूर्वाधार तयार गरी पर्यटकीय गन्तब्य बनाउनुपर्ने वडा –३ का वडाध्यक्ष नरेन्द्र गुरुङ बताउनुहुन्छ । त्यसका लागि गुरुयोजना बनाएर काम गर्न लागिएको उहाँले बताउनुभयो ।

पहाडको टाकुरामा रहेको यहाँबाट उत्तरमा सगरमाथा, कञ्चनजङ्गा र कुम्भकर्णसहितका हिमशृङ्खलाको मनोरम दृश्य देखिन्छ । सदरमुकाम फिदिम नगरपालिका–५ मा अवस्थित यहाँ पाँचथर र इलामका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।

मेची राजमार्गको इलाम–फिदिम सडकखण्डको कान्छी दोकान बजारबाट यो दुई किलोमिटरको दूरीमा पर्दछ । किराँत धर्मगुरु तथा महान् समाज सुधारक फाल्गुनन्द लिङदेनले तपस्या गरी सत्यधर्म मुचुल्का घोषणा गरेका हुनाले किराँत धर्मावलम्बीका लागि यो पवित्र स्थल भएको वडाध्यक्ष लीलाराज तुम्बापोले बताउनुभयो । किराँत धर्मालम्बी मात्र नभएर अन्य मानिस पनि महागुरु फाल्गुनन्दप्रतिको श्रद्धाले यहाँ आउँछन् ।

महागुरु फाल्गुनन्दले किराँत समुदाय अगाडि बढ्नपर्ने सन्देश समेटेर सात बुँदे ‘सत्यधर्म मुचुल्का’ यहीबाट घोषणा गरेका थिए । यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लिम्बू भाषा र संस्कृतिको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था समेत लागिपरेका छन् । फिदिम नगरपालिकाले गुरुयोजना तयार गरेर पर्यटकीय गन्तव्य बनाउने काम अघि बढाएको छ ।

लब्रेकुटी नगरपालिका क्षेत्रभित्रको सुन्दर ठाउँ भएकाले गुरुयोजना बनाएर विकास गर्ने योजना रहेको फिदिम नगरप्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो ।

गत कात्तिक २५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा फाल्गुनन्दको १३३औँ जन्मजयन्तीको अवसरमा यहाँ आउँदा लुम्बिनी विकास कोषजस्तै संरचना बनाएर यस क्षेत्रको विकास गर्ने घोषणा गर्नुभएपछि यहाँका जनता उत्साहित बनेका थिए ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुरेन्द्रप्रकाश जवेगू यो क्षेत्रमा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको टिप्पणी गर्नुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्