महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला फैलिएको हो । झाडापखालाका बिरामीलाई स्थानीय मदरसामा राखेर उपचार भइरहेको छ ।
जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोली पुगेर उपचार थालिएको बताउनुभयो । “केही बिरामी सिकिस्त छन्,” उहाँले भन्नुभयो । सिकिस्त अवस्थाकी नईमा खातुनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । “चिकित्सक टोली औषधिसहित पुगेको छ, झाडापखाला नियन्त्रणमा आएको खबर छ,” डा झाले भन्नुभयो ।