Logo

१४ वर्षीया बालिकाको बलात्कार र हत्या रहस्यमै



काठमाडौं ४ असोज । सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ ।

सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । सो दिन नै प्रहरीले सो ठाउँका रामजीवन राउत कुर्मीलाई पक्राउ गरेको थियो ।

स्थानीयले कवितालाई उनी हराएकै दिन रामजीवनसँग उखुबारीमा देखेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कविताका बाबु रामएकवालले रामजीवनले नै हत्या गरेको किटानी जाहेरीसमेत दिएका थिए ।

रामजीवन पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका अन्य चारजनालाई भने प्रहरीले प्रत्येकसँग एक लाख धरौटी लिएर छाडेको थियो । तर, पाँचै अभियुक्तले सफाइ पाएका जिल्ला अदालतका निमित्त स्रेस्तेदार महेन्द्र झाले बताए ।

कविताको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अदालतमा पनि अपहरण, बलात्कार र हत्याको मुद्दा चलाएको थियो ।

अभियुक्तहरूले सफाइ पाएपछि पीडित परिवारले भने असन्तुष्टि जनाएका छन् । बाबु रामएकवालले आफूहरूले न्यायको अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘प्रहरी र अदालत दुवैले हामीलाई भरोसा हुने गरी न्याय दिनुपर्छ, हत्यारालाई कारबाही हुनुपर्छ ।’ नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्