Logo

मलेसियाका पूर्व प्रधानमन्त्री नजिबमाथी थप २५ आरोप



काठमाडौँ । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप २५ विषयमा अनियमिततासम्बन्धी आरोप लगाइएको छ ।

राज्यको एउटा ठूलो लगानी कोषको दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र पद तथा शक्तिको दुरुपयोग गरेकोलगायतका आरोपहरू उनलाई लगाइएको हो ।सयौँ लाख डलर उनको बैंक खाताबाट लेनदेन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् ।

नजिबका समर्थकहरूले क्वालालम्पुर अदालत अगाडी नजिबको पक्षमा प्रदर्शन गरेका थिए । उनलाई लगाइएका आरोपहरूमध्ये केही आरोप गम्भीर प्रकृतिका भएको बताइएको छ ।

यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनावमा पनि उनी पराजित भएका थिए। उनलाई पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो ।

विगतमा नाजिवकै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफु फेरी राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए ।

आरोपहरू लगाइएपछि बिहीबार उनले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन गर्दे आफू दोषी नरहेको दावी गरेका थिए।“मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानूनको शासन अनुसार कामहरू हुनेछन् ।” प्रत्रकारसंगको कुराकानीमा उनले बताएका थिए ।

पूर्व प्रधानमन्त्री नजिबले आफू सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गरेका थिए।उनलाई राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो ।

नजिब र उनका सहकर्मीहरूले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्