काठमाडौं ६ असोज । बेलायती राजपरिवारका एक सदस्यले छिट्टै नेपाल भ्रमण गर्न लागेको बताएका छन् । प्रिन्स माइकल अफ केन्टले एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था केयर फर चिल्ड्रेनको प्रमुख संरक्षकको हैसियतमा आफूले छिट्टै नेपालको भ्रमण गर्ने जनाएका हुन् ।
लन्डनस्थित नेपाली दूतावासमा बिहीवार संविधान दिवस मनाउन आयोजित एक विशेष समारोहका प्रमुख अतिथि प्रिन्स माइकल अफ केन्टले २ शताब्दी पुरानो नेपाल–बेलायत सम्बन्ध राजनीतिक, सैनिक, शैक्षिक तथा सांस्कृतिक रहेको बताए।
उनले सर राल्फ टर्नरले ‘गोर्खा सैनिक संसारमै साहसीमध्ये पनि सबैभन्दा साहसी तथा बेलायतका सबैभन्दा विश्वासिला मित्र’ का रुपमा चित्रण गरेको पनि स्मरण गरे।
कार्यक्रममा प्रिन्स माइकलले नेपाल सम्बन्धि चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे। राजदूत डा. दुर्गाबहादुर सुवेदीले खुकुरी र नेपालको चित्र उपहारका रुपमा दिंदा प्रिन्स प्रसन्न देखिन्थे।
बेलायती राजपरिवारले नेपाल र गोर्खा सैनिकको सधैं तारिफ गर्ने गर्छन्। राजदूत सुवेदीले आफ्नो कार्यकालको २ वर्षभित्र दूतावास परिसरमा प्रिन्स हयारी, डुक अफ ग्लोस्टर र प्रिन्स माइकललाई ल्याइसकेका छन्। प्रिन्स हयारीले त भूकम्पपछि नेपाल भ्रमण पनि गरेका थिए।
संविधान दिवस (नेशनल डे) मा राजदूत सुवेदीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने व्यवस्था गरेको उल्लेख गरे।
राजदूत सुवेदीले गोर्खा सैनिक सम्बन्धले नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सृदृढ बनाएको बताए। उनले भूगोलले टाढा भएपनि गौरवपूर्ण सभ्यता भएका दुवै देशबीच थुप्रै समानता रहेको बताए।
राजदूतले बेलायतमा एक लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र दुबै देशबीचको सम्बन्ध अरु नजिक तुल्याउन नेपाली डायस्पोराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत बताए। संघीयता, गणतन्त्र, लोकतान्त्रिक विधिको शासन, संविधानवाद, संसदीय शासन प्रणाली नेपालको संविधानले अंगीकार गरेको मुख्य विषय भएको धारणा पनि डा. सुवेदीको थियो। कान्तिपुरबाट