Logo

अपराध नियन्त्रण गर्न सरकार कठोर बन्छ : मन्त्री बाँस्कोटा



काभे्रपलाञ्चोक, ६ असोज / सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने बताउनुभएको छ ।

काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पसको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अबलम्बन गर्दै निर्ममसम्म हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वतन्त्रताका नाममा अश्लिलता झल्काउनु आपराधिक गतिविधि हो, यो कुनै प्रकारले स्वीकार्य हुन्न, यसविरुद्ध हामी कठोर हुन्छौँ ।”

मन्त्री बाँस्कोटाले ‘लोकतन्त्र’ हो भन्दै स्वतन्त्रताका नाममा अश्लिल क्रियाकलाप दर्शाउनु समाज विखण्डनको कारक बन्ने भएकाले यसविरुद्ध लाग्दा लोकतन्त्र खतरामा पर्दैन भन्नुभयो । “आफैँले जन्माएकी छोरी घरभित्र असुरक्षित हुनेसम्मका अवस्था हुन थालेपछि सरकार निर्मम बन्नैपर्छ, यसकारण पनि इन्टरनेटका अश्लिल साइट बन्द गर्ने योजना बनाएका हौँ” उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपाली जनताले सरकारसँग आशा गर्ने मात्र होइन, प्रत्येकको हक हुने भएकाले जनताको मौलिक हकलाई संहितामा थपिएसँगै अब प्रयोगमा ल्याइने बताउनुभयो । उहाँले सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नभुयो, “विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रेल, विशेष आर्थिक क्षेत्रलगायतका योजनामध्ये केही विकासको चरणमा छन् भने केही शुरु भइसके, यिनीहरू एकै वर्षमा बन्दैनन्, समय लाग्छ ।” मन्त्री बाँस्कोटाले डिजिटल नेपालको योजनाअन्तर्गत क्रमैसँग सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रणालीमा लगिने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्