Logo

महासचिव बिसीको व्यङ्ग्य ‘सिण्डिकेट धारीसंग घुडा टेक्ने, दशैंको मुखमा भाडा बढाउने ?’



काठमाडौं । सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेसँगै चौतर्फि बिरोधका स्वरहरु सुनिन थालेका छन् । लोक जनशक्ति पार्टी नेपालका महासचिव कर्णसिंह बिसीले दशैंको मुखैमा आएर सरकारले यातायात क्षेत्रको भाडा बढाएर गल्ति गरेको बताए ।

रिपोर्टर्सनेपाल डककमसँगको कुराकानिमा महासचिव बिसीले भने,‘यातायातव्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाएको सुन्नमा आएको छ, यो गलत छ, सिण्डीकेटको अन्त्य गर्छु भन्ने तर उनै यातायात व्याबसायीसँग घुडा टेकेर जनताको जन जीवनमा प्रतिकुल असर पार्नेगरि सम्झौता गर्ने ?’

केही दिन अघि इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ ।

उक्त सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो । शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।



प्रतिक्रिया दिनुहोस्