Logo

देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सभामुखको आग्रह



काठमाडौँ, ७ असोज । सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले भने,‘देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको ध्येय देश र जनता बलियो बनाउने हुनुपर्छ ।’

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सभामुख महराले प्रसारण पत्रकारिताको विकासमा नेपाल टेलिभिजनको अग्रणी भूमिका रहेको चर्चा गरे ।

राष्ट्रिय प्रसारण केन्द्रका रुपमा नेपाल टेलिभिजनले काम गरिराखेको चर्चा गर्दै उनले अगामी दिनमा यसको थप प्रभावकारिता वृद्धि हुँदै जाने विश्वास दिलाए ।

सभामुख महराले पत्रकारितासित सम्बन्धित रहेका मुलुकी ऐन एवं गोपनीयता हकसम्बन्धी ऐन नियम संशोधन हुने जानकारी दिँदै यस कार्यमा सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले नयाँ इतिहास रचना गर्दा आउने जोखिमलाई सामाना गर्न सकिएमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्र विभिन्न किसिमबाट जोखिममा पर्ने चर्चा गर्दै जोखिममा परेका अवस्थामा राज्यले संरक्षण गर्नुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनलाई संशोधन गर्न माग गर्दै महासङ्घले पेशागत मर्यादा र हकहितका पक्षमा निरन्तर पैरवी गर्र्दै आएको बताए

थापामगरले सरकारले हालै जारी गरेको फौजदारी आचारसंहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेकाले यसलाई तुरुन्त संशोधन गर्नुपर्ने धारणा राखे । उनले भने,‘पत्रकारको अधिकारलाई कुनैपनि हालतमा कुण्ठित गर्नुहुँदैन्, पत्रकारलाई समाचार लेखेकै भरमा हत्कडी लगाउने काम भएको छ । प्रहरीले बहादुरी देखाएको होला, तर म यही मञ्चबाट त्यो कदमको घोर भत्र्सना गर्छु । समाचार लेखेकै भरमा पत्रकारहरुलई पक्राउ गर्ने कानुन हामीलाई मान्य छैन् ।’

नेपाल पत्रकार महासंघको आफ्नो पत्रकार आचारसंहिता रहेको उल्लेख गर्दै यसलाई लागु गर्न आफूहरु तयार रहेको थापाले सुनाए । उनले भने,‘पत्रकारहरुले गल्ती गरे स्वतन्त्र र स्वायत्त निकाय खडा गरेर छानबिन गरी कारवाही गर्नुपर्छ ।’

वरिष्ठ पत्रकार एवं पुरस्कार छनोट समितिका संयोजक ध्रुवहरि अधिकारीले पुरस्कारका प्राप्तिका लागि दश वटा सामग्री प्राप्त भएकामध्ये विषयवस्तु, प्रस्तुति, सूचना तथा जोखिमका आधारमा उत्कृष्ट एक चयन गरिएको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टेकबहादुर खड्का, सचिव रविचन्द्र पराजुली, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल टेलिभिज कर्मचारी सङ्घका उपाध्यक्ष हेमप्रसाद घिमिरेले स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहका योगदानमाथि चर्चा गरेका थिए ।

पुरस्कार तथा सम्मान

कार्यक्रममा यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल, वरिष्ठ सहायक क्यामराम्यान शिव पँगेनी तथा सप्तरी संवाददाता श्यामसुन्दर यादवलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

स्वर्गीय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु ५१ हजारसहित प्रमाणपत्र रहेको छ । तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित उनीहरुको विसं २०६३ असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक दीपा गौतम, अपरेशन महाशाखा निर्देशक रेणु थापा, कार्यकारी समाचार सम्पादक नवराज पोखरेल र वरिष्ठ भाषाविद् बाबुराम तिमिल्सिनालाई सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा कार्यकारी समाचार सम्पादक पुष्पहरि क्याम्पाराई सम्मान गरिनाका साथै प्रतिष्ठानद्वारा स्थापित शशि चालिसे स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ क्यामराम्यान पुरुषोत्तम घिमिरे, जयप्रकाश चौधरी स्मृति पत्रकारिता पुरस्कार सङ्गीता पन्त र वीरेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार दृश्य सम्पादक शतिश कोइराललाई प्रदान गरिएको थियो ।

ती पुरस्कारको राशि रु पाँच हजारसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा पुरस्कृत समाचार सम्पादक पौडेलले टेलिभिजन पत्रकारिता चुनौती बन्दै गएको धारणा राखेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot