Logo

रुद्राक्ष बगान सीसी क्यामेराको निगरानिमा



मोहन तामाङ । भोजपुर, असोज ८ – रुद्राक्ष उत्पादनको केन्द्र तथा राजधानी मानिएको चिउरीबोटेमा किसानहरुले रुद्राक्ष बगानमा सीसी क्यामेरा जडान गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका ५ स्थित चिउरीबोटेका रुद्राक्ष किसान तथा व्यवसायिहरुले सीसी क्यामेरा जडान गरी बगानलाई निगरानिमा राखेका हुन् । रुद्राक्ष खरिद बिक्रि सुरु भएसंगै उनीहरुले रुद्राक्षको बिरुवा र रुद्राक्ष चोरी हुनबाट जोगाउन सीसी क्यामेरा जडान गरेका हुन् ।

रुद्राक्ष फल्ने समयमा रुखको फेदमा बसेर सुरक्षा दिँदै आएका कृषकहरुले सीसी क्यामेरा जडान गरेका हुन् । रुद्राक्षको बगैँचामा सीसी क्यामेरा जडान गरेर घरैमा बसेर कृषकले रुदाक्षको निगरानी गरिरहेको कृषक सुरेन्द्रराईले बताए । उनले केहि साल अगाडी एक मुरी धानकोे बिउ रोपिन्थ्यो तर बर्ष भरि खान र लाउनलाई पुग्दैन थियो तर रुद्राक्षले मनग्य आमदानी हुने भएको ले मैले जग्गामा रुद्राक्ष खेति गर्ने निर्णयले अहिले मेरो ५५ रोपनी जग्गामा करिब ३ सय रुद्राक्ष लगाएका छु । वार्षिक २५ देखि ४० लाख आम्दानी हुने गरेको राईले बताए ।

एकै रुखबाट लाखौंको आम्दानी हुने रुद्राक्षको बगान कुर्नु पर्ने र राम्रा रुद्राक्षको बिरुवा चोरी हुने त्रासबाट समेत कृषकहरु मुक्त भएका छन् । रुद्राक्ष सुरक्षाका लागि धेरै कृषकहरु बगैँचामा बसेर नै सुरक्षा दिनुपर्ने, रुद्राक्ष कुर्नका लागि मान्छे राखे पनि भरपर्दो नभएपछि यस वर्षदेखि सीसी क्यामेरा जडान गर्न थालिएको बताउँछन् । अन्नबाली उत्पादन भइरहेका जग्गा मासेर यहाँका किसानहरुले रुद्राक्ष उत्पादन गरिरहेका छन् ।

चिउरीबोटेका चार सय घर परिवार मध्ये करिब ६० घर परिवारले रुद्राक्ष बगानमा सीसी क्यामेरा जडान गरेका छन् । रुद्राक्ष कै कारण यहाँका किसानहरुको अर्थिक स्थिति सुधार भएको छ । प्रतिघर वार्षिक ४ लाख देखि २ करोडसम्म आम्दानी गरिरहेका किसानहरुले घर वरीपरी तारबेरा समेत गरेका छन् ।

गत वर्षहरुमा गाउँमा भएको विभिन्न घटनाका कारण घर वरीपरि तारबेरा र सीसी क्यामेरा जडान गरिएको उनीहरु बताउँछन् । आप्mनो व्यक्तिगत सुरक्षाका लागि पनि तारबेरा र सीसी क्यामेरा जडान गरिएको व्यवसायि एकराज जीसीले बताए ।

कुनैबेला भारतमा मात्रै निकासी हुने रुद्राक्ष अहिले चिनियाँ बजारमा निकासी हुन थालेपछि यसको मूल्य बढ्न थालेको छ । अन्नवालीलाई जस्तो यसलाई मेहनत पनि नलाग्ने, सिजनको बेलामा मात्रै कुर्नुपर्ने भएकाले यसको खेती सहज बनेको छ ।



प्रतिक्रिया दिनुहोस्