काठमाडौं १० भदौ । एक साताअघि हुम्लाको चंखेली गाउँपालिका-५ नेक्पामा पहिरो गयो। पहिरोमा पुरिएर दुईको मृत्यु भयो। चार घाइते भए। उद्धारका लागि हेलिकप्टरको विकल्प थिएन। स्थानीयले प्रदेशदेखि केन्द्र सरकारसम्म हारगुहार गरे। कतैबाट सुनुवाइ नभएपछि १२ लाख ऋण काडेर हेलिकप्टर चार्टर गरे र घाइतेलाई नेपालगञ्ज तथा काठमाडौं पुर्याए।
पहिरोमा पुरिएर घाइते भएकाको ज्यान जोगाइदिन रोइकराई गर्दासमेत प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था गरिदिएन। विपद्मा सर्वसाधारणको उद्धारमा चासो नदिने कर्णालीका मुख्यमन्त्री र मन्त्री आफू भने हेलिकप्टरबिना जिल्लै जाँदैनन्।
यहाँका मुख्यमन्त्री र मन्त्रीले सामान्य मेलाको उद्घाटन र अनुगमनमा जिल्ला जाँदा पनि हेलिकप्टर चार्टर गर्दै आएका छन्। सडक पहुँच भएको स्थानमा पनि मन्त्रीहरू हेलिकप्टर चार्टर गरेर पुग्ने गरेका हुन्।
मुख्यमन्त्रीलाई मात्र निमन्त्रणा भएको कार्यक्रममा समेत हेलिकप्टर चढ्न मन्त्रीहरूबीच तछाँडमछाड हुन्छ। असोज १ गते कालिकोटको नरहरिनाथ गाउँपालिकाका रूपसामा मेला सञ्चालन भयो। हरेक वर्ष लाग्ने उक्त मेलाको उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकप्टर चार्टर गरेर जान लागेको सुइँको पाएपछि मन्त्रीहरूबीच पनि हानथाप भयो। कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह बुढा र कृषि तथा सहकारी मन्त्री विमला केसी हेलिकप्टर चढेर कालिकोट पुगे।
मन्त्रीहरूलाई कालिकोट पुर्याउन गाउँपालिकाले ६ लाखमा हेलिकप्टर चार्टर गर्यो। कालिकोट सडकमार्गबाट पनि पुग्न सकिन्छ।
भदौ १९ गते हुम्लाको लिमी महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढा हेलिकप्टरबाटै पुगे। हेलिकप्टर चार्टर गरेरै महोत्सवको उद्घाटन गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।
तामाङका अनुसार सिमकोटबाट लिमीसम्म करिब दुई लाखमा हेलिकप्टर चार्टर गरिएको थियो। सुर्खेतबाट सिमकोटसम्मको खर्च भने प्रदेश सरकार आफैले बेहोरेको उनले सुनाए। हेलिकप्टरबाट सुर्खेतबाट हुम्ला पुग्न ६ लाखसम्म भाडा लाग्छ। अन्नपूर्णपोष्टबाट