Logo

जरामा जीवनको कला भर्दै मीनबहादुर



कास्की । पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष शोरुम छ । शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता ।

एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका सेवानिवृत्त हुन । चापाकोटका बुबा हर्कबहादुर राना र आमा डम्बरकुमारी रानाका सन्तान मीनको बसोबास अहिले भने घारीपाटन हो । विसं। २०१८ मा जन्मिएका उनी सिर्जनात्मक कलामा निकै रमाउन्छन ।

उनी १३ वर्षको उमेरमै दाजुसँग भारत पुगेका थिए । खै किन पढ्न अनुकूल मिलेन । सत्र वर्षका उमेरमा उनी भारतीय सेनामा भर्ना हुन सफल भएका थिए ।“पाँच कक्षा पढेँ कि पढिन थाहा पाइन, तर भर्ती हुँदा पाँच कक्षा उत्तीर्णको प्रमाणपत्र पेश गरेको हुँ,” पढाइबारे हाँस्दै उनले यथार्थ खोले।

सेवाको १७ वर्षमै भारतीय सेनाबाट निवृत्त भएपछि उनी नेपाल फर्की आए । त्यसपछिको दैनिकी भने के गरौँ र कसो गरौँ हुन थाल्यो । समयको सदुपयोग पनि गर्नु थियो । अर्कातर्फ श्रीमती र चार सन्तानको शिक्षा, दीक्षा पालनपोषणका लागि आर्थिक अवस्थालाई मजबुत बनाउनु पनि थियो ।

महँगीको जमाना उपदानको मात्रै भरले थेग्न गाह्रो थियो । त्यसैले कुनै पेशा व्यवसाय समात्नु उनको बाध्यता थियो । के व्यवसाय गर्ने निधो भने गर्न सकेका थिएनन, मनमस्तिष्कमा कला मडारिरहेको थियो तर उनले आफ्नो क्षमताको पहिचान भने गर्न सकेका रहेनछन । यसै बेचैन रहेका थिए उनी ।

पन्ध्र वर्षअघि रातोपैह्रोको सामुदायिक वनमा गोडानी गरियो । वनमाराले वनलाई घेरेको थियो । वनमारा निकालेर एकै ठाउँमा थुपारियो । मीनका आँखा वनमाराका जरामा परे । उनका आँखाले विभिन्न आकृति देख्न थाल्यो । चरा, मान्छे, कहिँकतै खुट्टा नभएको मान्छेको आकृति जस्तो, कतै हात नभए जस्तो, एउटा अमूर्त आकृति जरामा देखिन थाल्यो ।

उनले सँगालेर घर ल्याए, घोरिएर हेरे, जति हे¥यो उति गजब लाग्न थाल्यो । भित्रभित्र भएको सिर्जनशील कलाले उनका आँखा तिखारिरहेको थियो, आँखा झिम्कन मान्दैनथे । अनि प्राकृतिक रुपमै ती कलाकृति सजाउन थाले । कहिँकतै रुखका जरा देख्यो कि घरमा ल्याउने र हेर्ने, कुनै न कुनै आकृति भेटिन्थ्यो, त्यसैमा रमाउन थाल्यो उन मन ।

यसरी जरा सङ्कलन गर्दै जाँदा व्यावसायिक रुपमै यस पेशालाई अघि बढाउने उनको सोच बन्यो । उनले ‘मोर्डन आर्ट ग्यालरी’ बाट कला व्यवसायलाई अगाडि बढाउने निधो गरे ।

कति विदेशी कलाप्रेमीले कुनै रङगविनाको कलाआकृति मन पराउँथे भने त कतिले क्रृत्रिम सुन्दरता खोज्ने गर्थे । काम गर्दै जाँदा कलाप्रेमी ग्राहकको मनोविज्ञान पनि उनले बुझ्दै जान थाले । अनि उनले जुक्ति निकाल्दै त्यही आकृतिमा अलिअलि रङगरोगन थपेर क्रृत्रिम रुपमा केही सजिसजाउ गरेर आकर्षक बनाउन थाले । जस्तो खोज्न आउँछन्, त्यस्तै कलाकृति तयार गरेर बेच्नु उनको दैनिकी बन्यो ।

विगत १५ वर्षदेखि उनको दैनिकी यसरी नै बितिरहेको छ । झण्डै १०० कला आकृति उनको ‘मोर्डन आर्ट ग्यालरी’ मा देख्न सकिन्छ । रु ५० देखि चार लाखसम्म उनका कलाको मूल्य रहेको छ अहिले । उनले चरा, विभिन्न धर्म संस्कार, मृत्यु संस्कारका चित्राकृति, विभिन्न जातजातिको संस्कृति, जनावरका आकृति, देवीदेवताका मूर्तिलगायत मागअनुसारका सम्पूर्ण मूर्ति बनाउँदै आएका छन ।

सिक्न चाहनेका लागि गुरु बन्न पनि उनी तयार हुन्छन, तर सिक्न खोज्ने नेपाली मन भने भेटेका छैनन । बरु विदेशी पर्यटक आएर उनलाई गुरु बनाइसकेका छन् । हालसम्म उनी १५ जना विदेशीका कला सिकाउने गुरु बनिसकेका छन। केही समयअघि महिलाहरुलार्ई चरा बनाउने तालीम पनि दिएका छन।

“नेपाली बढी कृत्रिमतामा ढालेको खोज्छन् तर विदेशीले प्राकृतिक आकृति मन पराउँछन्,” उनले सुनाए, “नेपालीलाई आफ्नो कला संस्कृतिप्रति त्यति रुचि बढ्न सकेको छैन ।”

आजकाल उनको व्यस्तता दिनदिनै बढिरहेको छ । उनले तार, फोम, कागज, खरानी, फेबिकोल, झारपात, काठको धुलो, रङ्ग, कुखुराको प्वाँखलगायत सामग्रीको प्रयोगले विभिन्न सुन्दर मूर्ति एवं कलाकृति बनाउँदै आएका छन ।

आगामी दिनमा नेपालका आदिवासी जनजातिको संस्कृतिलाई कलामार्फत विभिन्न जातजातिको संस्कृतिको प्रचारप्रसार गर्ने उनको सोच रहेको छ । विदेशीले पनि नेपाली संस्कृतिका कला रुचाएपछि उनको सोच पनि यतातिर बढ्दै गएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्