काठमाडौँ । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन। अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय गरेको तर उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत रहने जनाएको छ ।
यो सम्झौताले पछिल्ला दिनहरुमा मस्क विरुद्ध परेको दबाब केही कम भएको छ । मस्कले केहीअघि ट्वीट गर्दै टेस्ला कम्पनी निजी रहेको धारणा सार्वजनिक गरेपछि स्वामित्वको विषयलाई लिएर विवाद चुलिएको थियो ।
“कम्पनीको कर्पोरेट सुशासन र टेस्लाभित्रका अन्य सुधार तथा दण्ड जरिवानाको भुक्तानीमा सहमति भएको छ, तर यो विषयमा अदालतको सहमति लिन बाँकी छ,” धितोपत्र बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
मस्कमाथि सेयरमा धाँधली गरेको तथा अगस्ट ७ मा ट्वीट गरी लगानीकर्तामाथि भ्रम सिर्जना गरेको आरोप लगाइएको छ । मस्कले ट्वीट गरी टेस्लाको सेयर प्रति सेयर ४२० अमेरिकी डलरमा सेयर बिक्री गरी निजीकरण गर्ने बताएका थिए ।
यो घोषणासँगै टेस्लाको सेयर मूल्य बढेको थियो । अमेरिकी नियामक निकायको हस्तक्षेप पछि मस्कले उक्त योजना त्याग्ने निर्णय गरेका थिए ।“कम्पनीका भित्री व्यक्तिहरुले यस्ता वक्तव्यहरु दिँदा जिम्मेवारीपूर्ण किसिमबाट गर्नु पर्दछ,” धितोपत्र बोर्डका अध्यक्ष जे क्लेटोनले जानकारी गराए ।
सम्झौता अनुसार बजार र लगानीकर्ताको सर्वोत्तम हितलाई ध्यानमा राखी मस्कले टेस्ला कम्पनीको अध्यक्ष पदमा कम्तीमा तीन वर्ष रहन पाउने छैनन्, र कम्पनीमा स्वतन्त्र व्यक्तिले अध्यक्षको जिम्मेवारी पाउनेछन् । एजेन्सी