Logo

अनिवार्य शिक्षा अब कानूनले नै ग्यारण्टी गरेको छः मन्त्री पोखरेल



बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन ।

मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने जानकारी गराए ।

शिक्षा विधेयक पारित भएर प्रमाणीकरणसमेत भएको कुरालाई उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सबै तहका सरकार, राजनीतिक दल, सामाजिक क्षेत्र र आम जनताको सक्रियताले नै निरक्षर उन्मूलन गर्न सकिने उनले बताए ।

“सरकारले केही गरेन भन्ने प्रतिपक्षीको आरोपलाई आफ्नो निरासाको कारण नबनाउनुहोस्,” उनले भने, “आ–आफ्ना तहमा विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न सहयोग पु¥याउनतर्फ लाग्नुपर्छ ।”

जिल्लाका १५ वटै स्थानीय तहका पार्टी कमिटीमा निरक्षर उन्मूलनसम्बन्धी अभियानसँग जोडेर प्रस्ताव नै बनाएर छलफल र निर्णय गर्न उनले पार्टी कार्यकर्तासँग अपिल गरेका छन ।

“यस अवधिमा संविधानले निर्दिष्ट गरेअनुसार मौलिक हकसम्बन्धी १५ वटै विधेयक पारित भएर प्रमाणीकरण भएका छन्, यसलाई उपलब्धिको सूचीमा राख्नु पर्छ ।

शिक्षा अब अनिवार्य र निःशुल्क हुने कुरा कानूनले नै ग्यारण्टी गरेको छ,” उनले जनाए । मन्त्री पोखरेल आज सिरहा र सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्