Logo

सदरमुकाममा चामल फालाफाल डिपोमा हाहाकार



कालिकोट(रमेश रावल) । दशै तिहार नजिकिदै गर्दा कालिकोटको जिल्ला सदरमुकामको डिपोमा चामल फालाफा अवस्थामा रहेको भएपनि गाउँमा तिन वटा डिपोमा चामलको हाहाकार रहेको छ । सदरमुकाममा रहेको डिपोमा समयमै चामल गर्ने ठेकेदारले ढुवानीको सम्झौता गरेका कारणले फालाफाल भएको हो भने गाउँमा रहेका डिपोमा ढुवानी ठेकेदारले ढुवानीको सम्झौता नगर्दा समस्या भएको हो ।

जिल्लाको पादमघाट, खल्लागाड र थिर्पुमा खाद्यान्नको डिपो कार्यालय रहेको छन् । पादमघाट र थिर्पु डिपोमा ढुवानीको ठेक्का पाएका ठेकेदारहरुले ढुवानी सम्झौता नगर्दा एक गेडा पनि चामल रहेको छैन् ।

जिल्ला सदरमुकाममा खाद्यान्न डिपोमा ७ सय ६७ क्विन्टल ४६ केजी चामल मौज्दात रहेको भएपनि थिर्पु र पादमघाट डिपोमा ढुवानीकर्ताले सम्झौता नगर्दा समस्या भएको जिल्ला खाद्य संस्थान कालिकोटका निमिक्त प्रमुख खड्क बुढामगरले बताए । ‘सदरमुकाममा दशै तिहारसम्मलाई पुग्ने खाद्यान्न रहेको छ ।’ उनले भने,‘ढुवानीकर्ताले सम्झौता नगर्दा डिपो कार्यालयहरुमा खाद्यान्नको अभाव भएको छ ।’

गाउँमा खाद्यान्नको अभाव

सधै सुख्खाग्रस्त क्षेत्रका रुपमा रहेको पतालामा यस बर्षको दशै तिहारमा खाद्यान्न अभाव हुने भएको छ । पलाताको थिर्पु डिपोमा खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेकेदार कम्पनीले ढुवानीको सम्झौता समयमै नगर्दा खाद्यान्न अभाव हुने देखिएको हो ।

थिर्पु डिपोका लागि निसान निर्माण सेवा कालिकोट, लवकुश जनरल स्टोर्स कालिकोटले ढुवानीको ठेक्का पाएको र पादमघाट डिपोको ढुवानीका लागि रामसागर जनरल स्टोर्स सुुर्खेत ठेक्का पाएको तर, ढुवानीको सम्झौता नहुदाँ दशै तिहारमा खाद्यान्नको अभाव हुने देखिएको नेपाल खाद्य संस्थान शाखा कार्यालय कालिकोटका निमिक्त प्रमुख बुढामगरले बताए । ‘सदरमुकाममा खाद्यान्नको कुनै अभाव छैन् ।’ उनले भने,‘तर, गाउँका डिपोहरुमा खाद्यान्न ढुवानीको ठेक्का पाएका ठेकेदार कम्पनीले सम्झौता नगर्दा खाद्यान्न अभाव हुने देखिएको छ ।’

दशै तिहार आयो खाद्यान्न चाहियो

दशै तिहार नजिकिदै गर्दा पलाता गाउँपालिकाका स्थानीयहरुले खाद्यान्न ढुवानीको माग गरेका छन् । पादमघाट र थिर्पु डिपोमा खाद्यान्न नभएपछि यहाँका स्थानीयबासीले खाद्यान्न समयमा नै ढुवानी गरेर दशै तिहारमा खाद्यान्न अभाव समस्या सुल्झाउन माग गरेको हुन् ।

दशै तिहारको मुखमा खाद्यान्नको अभाव हुने देखिएकाले खाद्यान्न ढुवानी चाडो गर्नका लागि पहल थालिएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘दशै तिहारमा खाद्यान्नको अभाव हुने देखिएको छ ।’ उनले भने,‘दशै तिहार अघि खाद्यान्न ढुवानी गर्न हामीले गाउँपालिका तर्फबाट पहल चालेका छौं ।’



प्रतिक्रिया दिनुहोस्