Logo

पतञ्जलि योग समिति नेपालको गठन



भक्तपुर । राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको भन्दै पतञ्जलि योग समिति परित्याग गर्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पतञ्जलि योग समिति त्यागेर पातञ्जल योग समिति नेपाल गठन भएको घोषणा गरिएको छ ।

पतञ्जलि योग समितिमा संलग्न रहेर त्यागेका ठूलो समूहको सहभागितामा पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी पातञ्जल योग समितिको केन्द्रीय तथा जिल्ला समिति गठन गरिएको बताएका छन ।

पत्रकार सम्मेलनमा उनले भने, “पतञ्जलि योग समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरी काम गरिरहेको छ, पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिर्नुपर्छ, भारतीय झण्डा, लोगो र ब्यानर बोक्नुपर्छ, नेपालीबाट आजीवन सदस्य बनाएको करोडाँै रुपैयाँ भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक छ ।”

कार्यक्रममा योगगुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जलि योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट शुरु भएको जानकारी गराएका छन। उनले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र ब्यानर प्रयोग भइरहेको भन्दै अब त्यसलाई विस्थापित गर्दै नेपालको झण्डा, लोगो र ब्यानरको प्रयोग गरिने बताएका थिए ।

पत्रकार सम्मेलनमा सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति नेपालको नवगठिन कार्यसमितको नाम सार्वजनिक गरिएको छ । त्यसैगरी योगप्रसाद आचार्यको अध्यक्षतामा भक्तपुर जिल्ला समिति गठन गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्