Logo

खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन



भक्तपुर । खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका– १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा आयोजनाबारे सम्भाव्यता अध्ययन थालेको हो ।

जिल्लाको दुई ठाउाँमा बाँध बनाइ काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने योजनासहित सो कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन थालेको हो । सो टोलीसँगै स्थलगत अध्ययनका लागि सांसद महेश बस्नेत मङ्गलबार सूर्यविनायक– १० चित्तपोल र काभ्रेको साँगा जोड्ने बीचको भाग तथा चाँगुनारायण नगरपालिकाको मुहान पोखरी पुग्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग काठमाडौँ उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौताअनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद बस्नेतले बताउनुभयो । चीन सरकारको निर्देशनअनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि आएको हो । बाँध निर्माणसँगै पानी सङ्कलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको छ । यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौँ पठाउन सकिने बस्नेत बताउनुहुन्छ ।

काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले अध्ययन शुरु गरेको हो । बढ्दो जनसङ्ख्याको चाप र पानीको मागलाई ध्यानमा राखेर सो अध्ययन थालिएको हो । बाँध निर्माण गर्न चीन सरकारले नेपाललाई दुई प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने सहमति भएको थियो ।

“मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यहाँबाट पानी वितरण गर्न सक्छौँ, बढी भएको पानी काठमाडौँ पठाउन सकिन्छ,” साँसद बस्नेतले भन्नुभयो । भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोचमा बाँध बनाइ आशापुरीको पानी ल्याउने र सङ्कलन गरेर शुद्धीकरण गरी खानीपानी वितरण गर्ने योजना छ ।

सो क्षेत्रमा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा पानी सिँचाइका लागि समेत प्रयोग गर्ने योजना छ । चाँगुनारायण नगरपालिकाको नगरकोटको महादेव खोलाबाट आएको पानीलाई बाँध बनाइ पानी वितरण गर्नेसमेत योजना छ ।



प्रतिक्रिया दिनुहोस्