Logo

३३ किलो सुन काण्डले चार हजार किलो सुन तस्करीको पोल खुल्योः गृहमन्त्री थापा



चितवन । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन।प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताए ।

देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने जनाए । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छौं ।”

गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरेका थिए।
सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताएको जनाईएको छ ।

उनका अनुसार “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ ।” गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको पनि जनाएका थिए । उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताएका छन ।

पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी गराए ।

छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्र्कषको आधारमा दोषीलाई कारवाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने उहाँले बताउनुभयो । यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।”

साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उहाँले जबसम्म तिनीहरु कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्