Logo

लायन्स क्लब दमौलीद्वारा ह्विलचियर वितरण



दमौली । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो ।

सामाजिक सेवामा क्रियाशील क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्ने क्लबका अध्यक्ष प्रदीप थापाले जानकारी दिएका छन। शुक्रबार १६ जनालाई ह्विलचियर वितरण गरिएको छ भने बाँकी ३४ जनालाई महोत्सवकै अवसर पारेर प्रदान गरिने उनले जनाए ।

ह्विलचियर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठलगायतले प्रदान गरे । क्लबले महोत्सवका अवधिमा शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिसमेत वितरण गर्ने थापाले जानकारी गराएका छन। रासस



प्रतिक्रिया दिनुहोस्