Logo

एका बिहानै सीमा नाकामा सिएम



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिएका छन ।

चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले आज निरीक्षण गरेका छन । सुदूरपश्चिम प्रदेशमा गौरीफन्टा नाका नेपालीको आवागमन हुने मुख्य नाका हो ।

वडादशैंँ र तिहार पर्व नजिकिएसँंगै यति बेला सो नाका हुँदै दैनिक चार सयदेखि हजार नेपाली स्वदेश भित्रिइरहेको बताइएको छ । यसरी भित्रिनेसँग सीमाका अधिकारीले अनावश्यक रुपमा दुःख दिने गरेका घटना बेलाबखत हुने गरेका छन् ।

विद्युतीय रिक्सालगायतका सवारी साधनले स्वदेश फर्किने नागरिकबाट मनपरी भाडा असुल्ने गरेको गुनासो पनि बढेको छ । मुख्यमन्त्री भट्टले सीमामा आवागमन गर्नेको सहयोगका लागि भारतीय सीमा सुरक्षा बल एसएसबि र सशस्त्र प्रहरी बलको पहलमा गौरीफन्टा सीमा नजिक स्थापना गरिएको ‘संयुक्त हेल्प डेस्क’ ले गर्ने कामका बारेमा समेत जानकारी लिएका थिए ।

उनले त्रिनगर प्रहरी चौकीमा हालै स्थापना गरिएको मलेरिया रोगको परीक्षण, उपचार तथा परामर्श सम्बन्धी ‘हेल्थ डेस्क’ को गतिविधि बारेमा जानकारी लिएका थिए । कैलाली भन्सार कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले सीमामा अवैध चोरी र कारोवार रोक्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन ।



प्रतिक्रिया दिनुहोस्