Logo

सुनकोशीमा बस दुर्घटना



२६ असोज,काठमाडौँ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो ।

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिएका छन ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाँैतर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ निवासी २९ वर्षीय रवि भण्डारीको मृत्यु भएको बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको जनाईएको छ । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ ।

बस दुर्घटना हुँदा दुईको मृत्यु

बेत्रावती, २६ असोज  नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्