Logo

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले छ अर्ब खर्चगर्नेः मुख्यमन्त्री



२६ असोज,काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन।प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका छन।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन जनाएका छन ।मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने जानकारी गराए ।

निर्देशनालय उद्घाटनका अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलो सेवाप्राप्त गर्न सकेकोमा खुशी व्यक्त गरेका थिए ।प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त नहुने बताए ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशको २५० र सङ्घीय एक हजार योजनामा तयार भई प्रदेशभित्र निर्माण कार्य शुरु हुने जानकारी गराए ।

नव स्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक, मोटर सञ्चालन हुने पक्की पुल र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृत, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्