Logo

भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने



काठमाडौँ, १ कात्तिक । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस ब्याचलर अफ नर्सिङ साइन्स अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन् ।

विश्वविद्यालयका स्वास्थ्य सङ्काय डीन डा खेमराज जोशीका अनुसार भर्ना प्रक्रिया शुरु भइसकेको छ । भर्नाका लागि फाराम वितरण भइरहेको छ । बीस विद्यार्थीलाई नर्सिङ पढाइने उनले बताए । नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित नर्सिङ पढाइ शुरु गरिएको उनको जिकिर छ । जोशीका अनुसार विश्वविद्यालयले आङ्गिक क्याम्पसका रुपमा यहाँ पठनपाठन सञ्चालन गर्नेछ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल नर्सिङ र त्यसपछिको एक वर्ष अर्बुदरोगसम्बन्धी पढाइ गरिने जानकारी गराए । अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ रहेको छ ।

प्रमाणपत्र तहको नर्सिङ उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन् । अस्पतालमा नर्सिङ कार्यक्रम शुरु भएसँगै जनशक्ति अभाव नहुने उनि बताउन्छन । यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य नर्सिङ पढेकाहरुबाट काम लिइँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्