Logo

राजदेवीमा १५ हजार बोका बलि



जनकपुरधाम, १ कात्तिक. शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो ।

विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।

महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ ।

राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्