काठमाडौं २ कार्तिक । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले नेपालीहरूको महान् चाड वडादशैँ, दीपावली र छठ पर्वले देश विदेशमा रहेका नेपालीलाई समृद्धिको दिशातर्फ अघि बढ्ने प्रेरणा मिलोस् भनी शुभकामना दिनुभएको छ ।
प्रदेश प्रमुख मल्लले आज दिनुभएको शुभकामना सन्देशमा नवदुर्गा, लक्ष्मी र छठी देवीको आराधना गरी मनाइने यी पर्वबाट नारीहरूको शक्तिको स्वरूप करुणा र कल्याणलाई जान्न सकौँ भन्ने कामनासमेत गर्नुभएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले वडादशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता, सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
आज दिनुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले दशैँजस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व काय गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी कामनासमेत गर्नुभएको छ ।
मुख्यमन्त्री राई–
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रूपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ ।
यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रूपमा रहेको उल्लेख गरिएको छ ।
मुख्यमन्त्रीले सन्देशमा महान् पर्व बडादशैँले भिन्न–भिन्न जातजाति, भाषा, धर्म एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक, सद्भाव आपसी भ्रातृत्व कायम गर्न सफल रहोस् भन्ने कामनासहित बडादशैँको शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलको जोड
प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रूपमा दशैँ स्थापित रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको र स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
“यस्ता सांस्कृतिक उत्सव र पर्व कुनै समुदायविशेषका नभएर सबै नेपालीका साझा भएका र सांस्कृतिक पर्वहरूले सद्भाव, भ्रातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सूत्रमा बाँधेका छन्, अझ दशैँको मौलिक पहिचान रहँदै आएको छ”, शुभकामना सन्देशमा “व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा घरभन्दा बाहिर रहेकाहरू दशैँमा घर फर्कन प्राथमिकता दिइरहनुले यो पर्वलाई समुदायले दिएको महत्व छर्लङ्ग हुन्छ”, उहाँले भन्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देशमा राजनीतिक रूपमा सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय रूपमा कार्यान्वयन हुन अझै बाँकी रहेकाले व्यावहारिक रूपमा सङ्घीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफूहरू सङ्कल्पित रहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले मुलुकबाट अब छिटोभन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको सन्दर्भमा प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित रहेको त्यसका लागि प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका सन्दर्भमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा शुभकामना सन्देशमार्फत अपिल गर्नुभएको छ ।