काठमाडौं ९ कार्तिक । गृह मन्त्रालयले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा चरम लापरबाही गरेको ठहरसहित एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ । गृहसचिव प्रेमकुमार राईको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले असोज २९ गते विष्टलाई सेवाबाट हटाउन मन्त्रालयमा पत्राचार गरेका थिए । खनालले पत्रमा घटनाको अनुसन्धानमा संलग्न प्रहरीबाट चरम लापरबाही भएको, गैरव्यावसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको, सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेका लगायत कारण प्रहरी नियमावली २०७१ बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए ।
बर्खास्तीपछि गृहले जारी गरेको प्रेस विज्ञप्तिमा दुवैमाथि कारबाही गर्नुपर्नाको कारण खुलाइएको छ । तत्काल प्रहरीबाट अनिवार्य रूपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही गरिएको, बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालेको तथा सुरक्षित राख्नुपर्ने वस्त्र लोप पारिएको लगायत गम्भीर त्रुटि भएको निष्कर्ष गृहले निकालेको छ ।
घटनालगत्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराएको, शव सनाखत गर्न पीडितको परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको, प्रहरीको व्यवहार र कार्यशैलीबाट पीडित परिवारका सदस्य प्रहरीको कामकारबाहीप्रति विश्वस्त हुन नसकेको जस्ता गम्भीर कसुरका कारण बर्खास्तीको निर्णयमा पुगेको गृहले जनाएको छ ।
प्रहरी महानिरीक्षकसमेतको टोलीको स्थलगत अध्ययन, डीआईजी धिरु बस्न्यातको नेतृत्वमा गठित आन्तरिक छानबिन कमिटीबाट प्राप्त तथ्य र कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा विष्ट, भट्टलगायत प्रहरी अधिकारीका कमजोरी औंल्याइएको थियो ।
गृह प्रवक्ता रामृकष्ण सुवेदीले अनुसन्धानमा भएको गम्भीर त्रुटिपछि उच्च प्रहरी अधिकारी बर्खास्तीको भागिदार बन्ने घटना विरलै रहेको बताए । उनले भने, ‘राष्ट्रसेवकले कानुनविपरीत काम गरेमा सजायको भागिदार बन्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको छ ।’
बर्खास्तीअघि गृहले विष्ट र भट्टसँग कात्तिक ४ गते पहिलो स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ चित्त नबुझेपछि गृहले बुधबार तपाईंहरूलाई किन कारबाही नगर्ने भन्ने प्रश्नसहित दोस्रो पत्र काटेको थियो । दोस्रो पत्रको जवाफ उनीहरूले बिहीबार प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए । सचिवालयले करिब ४ बजेतिर उक्त पत्र गृह मन्त्रालयमा पठाएको थियो । पत्र पुगेलगत्तै बसेको गृहसचिव राईलगायतको बैठकले दोस्रो पत्रको जवाफसमेत चित्तबुझ्दो नभएको ठहर गर्दै उनीहरूलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ बमोजिम बर्खास्त गर्ने निर्णय गरेको थियो ।
कञ्चनपुर भीमदत्त नगरपालिका–२, खोल्टीकी पन्त गत साउन १० गते साथीको घरबाट पढेर निस्केपछि बेपत्ता भएकी थिइन् । घटनाको भोलिपल्ट उनको शव निम्बुखेडास्थित उखुबारीमा फेला परेको थियो । कान्तिपुरबाट