काठमाडौं ९ कार्तिक । चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नु परेको छ ।
दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरु सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ ।
सहमतिअनुसार प्रत्येक एयरलाइन्सले २५० क्विन्टलका दरले दसैं अगाडि नै एक हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर उनीहरुले ३३५ क्विन्टलमात्रै ढुवानी गरे ।
‘यात्रु ओसार्दा बढी पैसा पाउने भएपछि एयरलाइन्सले ढुवानी गरेनन्,’ संस्थानका महाप्रवन्धक योगेन्द्र गौचनले भने, ‘एयरलाइन्सले सिन्डिकेट गरी खाद्यान्न ढुवानी गरेनन् ।’ –कान्तिपुर दैनिकबाट