Logo

ठेकी बनाउने पेशा सङ्कटमा



बलेवा, ९ कात्तिक । काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो ।

मिहेनतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएका कारण सो पेशा सङ्कटमा पर्दै गएको छ । नयाँ पुस्ता ठेकी बनाउन आकपर्षत नुहुँदा पेशा सङ्कटमा परेको बागलुङ नगरपालिका–१२ अमलाचौरका टीकाबहादुर चुँदाराको भनाइ छ । “बाउबाजेले सिकाएको आधारमा काम सिकेर जीवन धान्ने पेशा नै ठेकी बनाउने पेशालाई बनायौँ”, उहाँले भन्नुभयो, “हाम्रा छोरा नाति छालाको लोती तानेर भाँडी घुमाउन झिजो मान्छन्, काम सिक्न मान्दैनन् ।”

गाउँमा दुःखजिलो तरिकाले बनाइने ठेकीको कामभन्दा वैदेशिक रोजगारी सहज मानेर युवा विदेशिएका कारण सीप हस्तान्तरणमा समस्या भएको हो । “ठेकी बिक्री गर्न गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता छ,” चुँदाराले भन्नुभयो, “परम्परागत प्रविधिको प्रयोग गरेर बनाएका ठेकीको परिश्रमअनुसारको मूल्य पाइन्न ।”

ठेकी बनाउनका लागि आवश्यक गिठेदारको काठ पर्याप्त मात्रामा नपाइने भएकाले पनि यो पेशा गर्नेलाई समस्या हुने गरेको छ । बलेवाका चुँदार समुदायले बनाउने ठेकीका लागि आवश्यक गिठेदार बागलुङमा निकै कम मात्रामा पाइन्छ । गुल्मीमा पाइने काठ ढुवानी गरेर बागलुङ ल्याउँदा लागत बढ्ने भएकाले ठेकी बेच्न कठिन हुने गरेको चुँदाराले बताउनुभयो ।

“पहिले–पहिले जस्तो काठ ल्याउनका लागि पनि सजिलो छैन”, बलेवाकै सूर्य विकले भन्नुभयोे, “अहिले त अर्को गाउँपालिकाबाट हाम्रो नगरपालिकामा काठ ल्याउँदा कर लाग्छ ।” एकै पटक धेरै काठ ल्याउँदा सामुदायिक वन तथा जिल्ला वन कार्यालयले बाधा सिर्जना गर्ने र थोरै थोरै गरेर काठ ल्याउँदा लागत बढ्ने गरेको उहाँको भनाइ छ ।

बलेवामा २४ चुँदारा परिवारको बसोबास छ । उनीहरुमध्ये १० परिवारले ठेकी बनाउने पेशालाई अँगाल्दै आएका छन् । बलेवामा उत्पादन भएका ठेकी पहिले–पहिले पाल्पा, स्याङ्जा, गुल्मी, प्यूठान, म्याग्दी, पर्वतलगायत जिल्लामा बिक्री हुने गरेको भए पनि पछिल्लो समय ठेकीको माग घट्दै गएको छ ।

पुराना पुस्ताका केही व्यक्तिले ठेकीको उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । अहिले गिठेदारबाट बनेको ठेकीलाई प्रतिमाना रु ६०० देखि रु एक हजारसम्म पर्ने गरेको छ । चार मानाको ठेकी बनाउनका लागि तीन कालिगढलाई ४ घण्टासम्म लाग्छ ।

भाँडीको लोती घुमाउन दुई जना आवश्यक पर्छ । एक जनालाई अरू थप काममा लगाइने गरिन्छ । बञ्चरो, भाँडी थेवे, फलाँसी, बाँक र निकानको सहयताले ठेकी बनाउँदा दुर्घटनाको जोखिम समेत उत्तिकै हुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्